काठमाडौं, ९ भदौं । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारको आयोजनामा संगठित सदस्यहरूको राष्ट्रिय भेला शुक्रबार सनैयाको ग्र्याण्ड मलस्थित सेन्चुरी होटलको सभाहलमा सम्पन्न भएको छ । नेकपा एमाले पार्टी केन्द्रीय कमिटीले जारी गरेको निर्देशनको अक्षरसः पालना गर्दै संचालन गरिएको कार्यक्रम खादा, ब्याज तथा मालारहित रहेको थियो भने मञ्चलाई वक्ताले बोल्ने क्रममा मात्र उपयोग गरिएको थियो ।
प्रवासको कर्मभूमिबाट स्वदेशको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रममा प्रवासी नेपाली मन्च कतारसँग आवद्ध सङ्गठित सदस्यहरूको मञ्चसँग सम्बन्धित प्रस्तावहरू संकलन गरेर संगठनलाई अझै सशक्त बनाउन प्रेरित गरिएको थियो । प्रवासी नेपाली मञ्चका केन्द्रीय उप–सचिव एवं अन्र्तराष्ट्रिय कमिटी तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले प्रशिक्षणको निम्ति प्रदान गरिएको विषय ‘संगठन निर्माणमा संचार माध्यमको पहुँच र प्रभाव’ विषयमा आफ्नो धारणा राख्नुभयो ।
उहाँले शरीरको निम्ति रक्त संचार जति महत्वपूर्ण हुन्छ, संगठनको निम्ति संचार जगत उति नै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले आफ्नो अभिव्यक्तिको क्रममा ‘जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च’ भन्ने मूल नाराकासाथ अहिले विश्वका ४१ स्थान भन्दा धेरै ठाउँमा प्रवासी नेपाली मञ्चले प्रवासिएका नेपालीहरूको हितमा काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मञ्चले प्रवासमा काम गरिरहेको छ, तर प्रचार–प्रसार सशक्त हुन नसक्दा यसको ब्रान्डीङ्ग उचितरूपमा हुन नसकेर नेकपा एमालेले क्षति व्यहोरी रहेको आभास भएको छ ।’
पोखरेलले भेलामा उठेका प्रश्न तथा सुझावलाई लिएर कतारस्थित प्रवासी नेपाली मञ्चले आफ्नो सङ्गठनलाई सुदृढिकरण गरी विश्वभरि रहेका मञ्चहरूमध्यको अव्वल प्रवासी नेपाली मञ्च बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । पोखरेले यसको साथै जिएसजी कतारसँगको समन्वयमा भएका तीता–मीठा कुराहरूलाई मिलाएर संगठन एक ढिक्का बनाउँदै नङ्ग र मासु झैँ सम्बन्ध बनाएर आगामी दिनमा बढ्नुपर्ने सुनाउनुभयो ।
त्यस्तै सम्पन्न भेलामा संगठन निर्माण, शुद्धिकरण र सुदृढिकरणको विषयमा प्रशिक्षण दिँदै मञ्चका मध्य–पूर्व इन्चार्ज कमलमणि गुरागाईंले संगठित सदस्यहरू संगठनको जग तथा मूल खम्बा भएको बताउनुभयो । उहाँले संगठित सदस्यहरु मूल पिल्लर भएको हुँदा संगठन निर्माण गर्दा वा निर्माण पश्चात सुदृढिकरण गर्दा शुद्धिकरणको पक्षलाई आवश्यक ध्यानमा राख्नुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,‘शुद्धिकरणको अभियान नेकपा एमालेले भर्खरै मिसन ग्रासरुट अन्तर्गतको अभियानमा सम्पन्न गरेको छ । संगठनको जग तथा मूल खम्बा तपाईहरु (सक्रिय सदस्य) हो, पार्टी र संगठनको बलियो जग पनि तपाईहरु नै हो, त्यसैले सुदृढिकरण गर्दा शुद्धिकरणमा विशेष ध्यान दिनुपर्छ ।’ ओएनएफ कतारका अध्यक्ष प्रभात त्रिपाठीले संगठन शुद्धिकरण र सुदृढिकरणलाई मध्यनजर गर्दै संगठित सदस्यको राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभयो ।
उहाँले संगठित सदस्यले संगठन निर्माण र परिचालन के हो भन्ने बिषयलाई मजबुतका साथ ग्रहण गर्नका लागि पनि आग्रह गर्नुभयो । हलमा उठेका प्रश्नहरुको जवाफमा उत्तर दिंदै संगठनमा व्यक्तिको प्रकृति अनुरुप कसैलाई उच–निच देखाउन नहुने, त्यस्तो प्रबृति समाज र संगठनका लागि हितकर नहुने जनाउँदै संगठनको सदस्यले बिचार, विधि तथा पद्धतिलाई अंगिकार गरेर हिंड्नुपर्ने बताउनुभयो ।
उहाँले मञ्चमा पहिले जस्तो कुनै वैचारिक दुई लाइन संघर्ष नभएको, कुनै स्वार्थसँग सम्बधित समुह नभएको, विशेष गरि कतारको सम्बन्धमा राष्ट्रिय कमिटी एकढिक्का रहेकोले त्यस्ता असहमतिका स्वार्थलिप्त गुन्जायस संगठनमा नआएका र आउन पनि नदिइने भनाई राख्नुभयो । मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रिकोटीले मञ्चलाई प्रवासी नेपाली श्रमिकहरूको हित उपयोगी कार्यहरुमा अझै दृढपूर्वक लगाउने उदेश्यका साथ सङ्गठित सदस्यहरूको राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो ।
भेलामा प्रवासी नेपाली मञ्च मातहतका विभागहरूले आफ्ना विभागले छैटौँ महाधिवेसन यता गरेका कार्यहरूको प्रतिवेदन वाचन गरिएको थियो । जस अन्तर्गत, आर्थिक विभागको प्रतिवेदन विभागीय प्रमुख तथा मञ्चका उपाध्यक्ष विजय बस्नेतले बुझाउनुभएको थियो । त्यस्तै श्रमिकको समस्या पहिचान तथा समाधान विभागका प्रमुख तथा मञ्चका उपसचिव खेमराज सुवेदीले अहिलेसम्म विभागले प्रवासी नेपाली श्रमिकको हीतमा गरेका कार्यहरू समेटेर विभागको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा विभागले कतारस्थित नेपाली श्रमिकको अतिरिक्त, कतारबाहिर कुवेतलगायतका देशमा कार्यरत श्रमिकहरूको हितमा गरिएको कार्यहरू पनि प्रतिवेदन प्रस्तुत भएको थियो । यसैगरी संगठन विभाग प्रमुख तथा मञ्चका सचिव बिनेश तामाङले सङ्गठन विभागको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । भेलाले प्रवासी नेपाली मञ्चको सुदृढिरणको निमित्त राय तथा सुझाव संकलन गरेको थियो ।
उक्त सुझाव संकलनमा संगठित सदस्यहरूले सक्रियरुपमा सहभागिता जनाएका थिए । गैर आवासीय नेपाली संघ (एनआरएन) लगायत सामाजिक संघ, संस्थाहरूसँग मञ्चको सम्बन्ध कस्तो हुनुपर्ने भन्ने सम्बन्धमा सागर नेपालले प्रशिक्षात्मक अभिव्यक्ति दिनुभएको थियो । भेलाले आगामी दिनहरूमा कतारमा रहेका नेपाली श्रमिकहरूलाई समेट्दै सामाजिक सुरक्षा कोष तथा जनचेतनामूलक कार्यक्रम गर्ने कार्यलाई तीव्रता दिने निर्णय गरेको छ ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा अन्तराष्ट्रिय कमिटीका उप–सचिव चानक पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा मध्यपूर्व कमिटी इन्चार्ज कमलमणि गुरागाईं विशेष अतिथि रहनुभएको थियो । त्यस्तै राष्ट्रिय भेलामा अढाई सय भन्दा बढी संगठनका कर्मठ सङ्गठित सदस्यहरूको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण तथा संचालन मञ्चका सचिव तथा संगठन विभाग प्रमुख बिनेश तामाङले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्