भक्तपुर, ११ भदौ । धाँं बाजा (एक प्रकारको बाजा) प्रशिक्षण पूरा गरेका एक समूह सार्वजनिक भएको छ । परम्पराअनुसार प्रशिक्षण पूरा भएपछि सार्वजनिक स्थानमा बाजा बजाएर प्रदर्शन गर्ने चलन अनुसार भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन कम्प्युटर इन्टिच्युटबाट तालिम प्राप्त प्रशिक्षण टोली सार्वजनिक भएका हुन् ।
यही क्रममा उनीहरुले परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए । यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो ।
प्रशिक्षण पूरा गरी आइतबार सार्वजनिक भएका बशिल त्वायनाले धाँं बाजाबारे धेरैलाई कम जानकारी भएकाले यसलाई बचाउन आफूले धाँ बाजा सिकेको सुनाउनुभयो । उहाँले आफूलाई पुराना बाजाहरु मनपर्ने भएकाले दैनिक साँंझको समयको सदुपयोग गरी धाँं बाजा सिकेको सुनाउनुभयो । त्वायनाकै समूहमा धाँं बाजा सिकेकी अर्की प्रशिक्षार्थी रेणु त्वानाबासुले पहिलापहिला पुरुषहरु मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाउनुभयो ।
आफूलाई पनि धाँं बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उहाँको भनाई थियो । २०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँंदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताउनुभयो ।
पछिल्लो पटक धाँं बाजाप्रति आकर्षण बढेकोले धाँं बाजा प्रशिक्षण पनि थपेको उहाँको भनाइ थियो । अहिले थप बासुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उहाँले बताउनुभयो । उहाँले यी सवै तालिम शुल्क रुपमा चलाउँंदै आउनुभएको छ । बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता हुनुपर्ने हुन्छ । धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताउनुभयो ।
टोल–टोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उहाँ सुनाउँनुहुन्छ । साथै उहाँले आफूले धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता नभएको सम्झना गर्नुभयो । तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ, उहाँ भन्नुहुन्छ । विशेषगरी बाजागाजाको बेलुकीको समयमा सिकाइने प्रजलन रहेको उहाँ बताउँंनुहुन्छ । भक्तपुरका धिमे बाजाको प्रशिक्षक उगेन बोयजु लगभग १० वर्षदेखि टोल–टोलमा तथा सघंसंस्थामा धिमेबाजा सिकाउदैँ आएको बताउँनुहुन्छ ।
आफूले ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमेबाजा सिकाउन थालेको उहाँले स्मरण गर्नुभयो । अहिले धिमेबाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको उहाँ सुनाउँनुहुन्छ । संस्कृतिविद् ओम धौभडेल मनोरञ्जनका धेरै सामाग्रीहरु बजारमा प्रचलनमा आए पनि भक्तपुरका नयाँं पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको बताउँंनुहुन्छ । उहाँका अनुसार नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गर्नुभएको छ ।
उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो । तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उहाँ भन्नुहुन्छ । केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उहाँ सम्झिनुहुन्छ । तर अहिले महिला पुरुष दुबैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरु सहभागिता हुने गरेको पाइन्छ ।





















प्रतिक्रिया दिनुहोस्