जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १२:५२

कुमार पन्तको घोषणा : शेष घलेको भिजन २०२० को एजेण्डा नै एनआरएनको अबको मुद्दा


बेलायत, भदौ २२ । गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष तथा आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले पूर्वअध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोन्डको एजेण्डा नै अबको एनआरएनको मुद्दा हुने घोषणा गर्नुभएको छ ।

आगामी अक्टोबरमा काठमाडौंमा हुन लागेको संघको निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरी बिश्व दौडमा रहनुभएका पन्तले एनआरएनए बेलायतको अधिवेशनमा सो घोषणा गर्नुभएको हो । ‘कतिपय साथीहरुले मलाई अब एनआरएनको मुद्दा के हुन्छ भन्नुहुन्छ ? मेरो वा अरु साथीको मुद्दा भन्ने केही छैन, भिजन २०२० नै अबको मुद्दा हो,’ एनआरएन युकेको नवौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पन्तले भन्नुभयो ‘भिजन २०२० मा सबै विषय समेटिएका छन् । त्यसैलाई कार्यान्वयन गरेर अघि बढिनुपर्छ ।’

मध्यपूर्व, एसिया प्यासिफिक, युरोप अमेरिकालगायतका क्षेत्रमा ठाउँअनुसार फरक फरक चासो र एजेण्डा रहेका भएपनि ती सबै विषयलाई भिजन २०२० ले नै सम्बोधन गर्न सक्ने उहाँको भनाई छ । पन्तले एनआरएनको सदस्यता वापत चउठाइँदै आएको शुल्कबारे सोच्नेबोला आएको पनि बताउनुभयो । एनआरएन सदस्यता शुल्क नलिएको खण्डमा संस्थामा थप सहभागिता बढाउन सकिने विचार व्यक्त गर्दै पन्तले यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अर्को प्रशंगमा पन्तले एनआरआरएनको जन्मनै बेलायतबाट भएको स्मरण गर्दै यहाँको गतिविधि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।बेलायत अध्यक्षका अर्का प्रत्यासी उपाध्यक्ष कुल आचार्यको गृहनगर हो । युरोपका दुई हस्ती यसपटकको निर्वाचनमा अध्यक्षको भिडन्तमा रहेका छन । कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष शेष घलेले एनआरएनको गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र यसका लागि पर्याप्त छलफल तथा बहस आवश्यक रहेको बताउनुभयो ।

अधिवेशन शनिबार उदघाटन भएपनि चुनावी कार्यक्रम भने सेप्टेम्बर १४ मा हुनेछ । निर्वाचनमा शेरबहादुर सुनार र पुनम गुरुङको दुई टीम प्रतिस्पर्धामा रहेको छ । आईसीसीमा सबैभन्दा बढी सदस्य रहेको एनआरएन बेलायतको यो अधिवेशनलाई एनआरएनभित्र चासोको रुपमा हेरिएको छ । एनआरएन बेलायतमा १३ हजार ५६२ सदस्य रहेका छन् ।