जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १७:३१

नेपाल–भारतको सभ्यताको इतिहास र वर्तमानको सोच समान : भारतीय राजदुत पुरी


काठमाडौं, भदौ २२ । भारतीय जनसञ्चार संस्थान एल्मुनाई एशोसिएशन नेपाल च्याप्टरको पहिलो सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । नवगठित नेपाल च्याप्टरद्वारा आयोजित कनेक्सन २०१९ काठमाडौँ नाम दिइएको सो सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल–भारतको सभ्यताको इतिहास र वर्तमानको सोच समान रहेको बताउनुभयो ।

‘आजको सोच्ने, सम्झने र सहज बनाउने सम्बन्धको सेतु आमसञ्चार बनेको छ, जुन राजनीति र कूटनीतिभन्दा बढी महत्वको छ,’ राजदुत पुरीको भनाई थियो । भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले अब संस्थानका तर्फबाट स्नातकोत्तर शिक्षा दिने तयारी गरेको जानकारी दिनुभयो । संस्थानबाट तालीम लिएका र अध्ययन गरेकाहरुको सञ्जाल विश्वभर फैलिएको उहाँको भनाई छ ।

उहाँले संस्थानबाट नेपालबाट मात्र दुई हजार ७ सय जनाले तालीम तथा शिक्षा लिइसकेको जानकारी दिनुभयो । आमसञ्चारको क्षेत्रमा सो संस्थान दक्षिण एशियाकै अग्रणी मानिन्छ । सन् १९६५ मा स्थापित संस्थानले विकास पत्रकारिताका लागि अध्यापन गराउँदै आएको छ । यसको एल्मुनाई एशोसिएशन भने सन् २०१२ मा स्थापना भएको थियो । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले आफ्नो पत्रकारितामा सीप र अनुभवको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । एल्मुनाई एशोसियशन नेपाल च्याप्टरका अध्यक्ष अनिल गिरीले नेपालमा ढिला गरी गठन भए पनि यसमार्फत सिर्जनात्मक गतिविधि अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट, संस्थानका महासचिव हर्षेन्द्रसिंह वर्धन, एल्मुनाई एशोसियशनका सचिव रितेश वर्मा लगायतले एशोसियशनमार्फत आमसञ्चारको ज्ञान र सीप मात्र नभई नेपाल भारत सम्बन्धका विविध आयामलाई अझ सुमधुर बनाउन सहकार्य गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमअन्तर्गत भएको छलफल सत्रमा नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे, हिन्दुस्तान टाइम्सकी राष्ट्रिय राजनीति सम्पादक सुनित्रा चौधरी, भारतको एनडी टिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्यालले बदलिदो सञ्चार सञ्जालको बारेमा टिप्पणी गर्नुभएको थियो । एल्मुनाई नेपाल च्याप्टरका कार्यसमिति सदस्य शरच्चन्द्र भण्डारीले नेपाल भारत सम्बन्धलाई उचाइमा पुर्याउन एशोसियशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सम्मेलनमा नेपाल र भारतका पत्रकारको उल्लेख्य सहभागिता थियो ।