जनता टाइम्स

१७ भदौ २०८०, आइतबार १६:५२

एमाले लुम्बिनीमा सहमतिको संभावना न्यून, चुनावको संभावना अधिक


बुटवल, भदौ १७ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन मतदान प्रक्रियातर्फ अघि बढेको छ । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा सहमतिको प्रयाशले सार्थक रुप लिन नसकी मतदानतर्फ अघि बढेको हो ।

प्रदेश अधिवेशनमा अध्यक्ष पदमा यसअघिका अध्यक्ष राधाकृष्ण कँडेल र हरि रिजाल दाबेदार रहनुभएको छ । कँडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुनुहुन्छ भने रिजाल पूर्वप्रदेश मन्त्री एवं केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन र बन्दशत्रमा सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभएको थियो तर दुवै आकांक्षीले दावी नछाडेपछि सहमतिको संभावना न्यून बनेको छ ।

रिजाललाई एमाले महासचिव शंकर पोखरेल निकटका नेताहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गर्नुभएको छ । यता कँडेललाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले साथ दिएका छन । उनीहरुले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन् ।

एमालेको यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक सुरु गरेका छन । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछन् ।

सहमति नजुटेपछि अध्यक्ष मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताउनु भयो । मतदान भएको खण्डमा सोमवार बिहान मात्रै सुरु हुने भण्डारीले जानकारी दिनुभयो । अधिवेशनमा १२ वटा जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी एक हजार ४ प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि सहभागी छन ।