जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार ०८:३७

काठमाडौं उपत्यकाभित्र पाँच रुटमा आजदेखि बिजुली बस संचालन


काठमाडौं , भदौ २३, काठमाडौं उपत्यकाभित्र  आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् ।

निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ ।

बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ । दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनु भयो ।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।