नयाँ दिल्लीस् भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशरो)का प्रमुख डा के सिवनले आइतवार सम्पर्क विच्छेद भएको चन्द्रयानको ल्यान्डर विक्रम रहेको स्थान फेला परेको दाबी गरेका छन्।
चन्द्रमाको परिक्रमा गर्दै गरेको चन्द्रयानको अर्बिटरले ल्यान्डरको तस्विर लिएको बताउँदै उनले भने,चन्द्रमाको सतहमा परिक्रमा गर्दै गरेको अर्बिटरले विक्रम ल्यान्डरको थर्मल तस्विर लिएको छ। त्यो तस्विर हेर्दा विक्रम ल्यान्डरले चन्द्रमामा हार्ड ल्यान्डिङ गरेको देखिन्छ।
यस्तै उनले अर्बिटरमार्फत प्राप्त तस्विरबाट विक्रम ल्यान्डर भित्र प्रज्ञान रोभर रहेको पुष्टि समेत गरेको भारतीय मिडियाले जनाएको छ। यद्यपि, उनले हार्ड ल्यान्डिङ का कारण विक्रममा पुगेको क्षतिका बारेमा भने केही बताएका छैनन्।
तस्विरको अध्ययन गर्दा चन्द्रयानका लागि निश्चित गरिएको क्षेत्र भन्दा केही मिटर टाढामात्रै रहेको बताइएको छ। इसरोका वैज्ञानिकहरुले विक्रम ल्यान्डरसँग लगातार सम्पर्क स्थापना गर्ने प्रयास गरिरहेका छन्। वैज्ञानिकहरु ल्यान्डरसँग सम्पर्क स्थापना गर्न डाटाहरुको अध्ययन गरिरहे पनि सो प्रयास सफल हुन सकेको छैन। चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देश पुग्न सकेको छैन। तर, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सन् २०१९ जुलाई २२ का दिन हालसम्म विश्वको लागि रहस्य बनेको सोही ध्रुवमा चन्द्रयान २ प्रक्षेपण गरेको थियो।
भारतीय समय अनुसार रातिको १ बजेर ५३ मिनेटमा बिक्रम ल्यान्डरले अवतरण गर्ने तय भएको थियो। इसरोमा सबै वैज्ञानिकहरु तयारी अवस्थामा थिए। तर, अवतरण हुनुभन्दा ६९ सेकेन्ड अगाडि ल्यान्डरसँग इसरोमा बसेका वैज्ञानिकहरुको सम्पर्क विच्छेद भयो।
दक्षिणी ध्रुवभन्दा करिब २.१ किलोमिटर टाढा रहँदा चन्द्रयानसँग सम्पर्क विच्छेद भएसँगै भारतको बहुप्रतिक्षित मिसन सफल हुन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस्