जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १२:२२

दुर्घटनापछि डेढ घन्टा हरायो हिसिला यमीको स्मरण शक्ति


काठमाडौं, भदौ २३ । सडक दुर्घटनामा घाइते हुनुभएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमीको दुर्घटनापछि डेढ घन्टा स्मरण शक्ति हराएको छ । उहाँकी छोरी मानुषीका अनुसार दुर्घटनापछि यमीको स्मरण शक्ति हराएको हो ।

‘दुर्घटनापछिको करिब एक–डेढ घन्टाको मेमोरी नै गुमाउनु भएको छ,’ हिसिलापुत्री मानुषीको भनाई छ । हिजो साँझ मोटरसाइकलले पूर्वमन्त्री यमी चढेको स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो । दुर्घटनामा घाइते हुनुभएकी यमीको ग्वार्काेस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरमा भएको कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय आउँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । उहाँको टाउकोमा चोट लागेको छ ।

स्कुटरको पछाडि सवार भएपनि हेलमेट लगाएको कारण यमीलाई धेरै गहिरो चोट लाग्न नपाएको चिकित्सकले बताएका छन । पूर्वमन्त्री यमीले केही समयअघि स्कुटर किनेर आफैं चलाउन थाल्नुभएको थियो । दुर्घटना हुँदा आइतबार भने उहाँ निजी सुरक्षा गार्ड मनिषा लामाले चलाएको स्कुटरमा सवार हुनुहुन्थ्यो । चालक लामाको घुँडामा सामान्य चोट लागेकाले आइतवार साँझ नै डिस्चार्ज गरिएको छ । नेतृ यमीलाई भोलि डिस्चार्ज गर्ने चिकित्सकले जनाएका छन ।