जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार ०९:५९

सुन तस्करी प्रकरणमा बर्षमानसहित चार पूर्वमन्त्रीका बिश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान


काठमाडौं, भदौ २५ । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनसहित चार जना पूर्वमन्त्रीका बिश्वास पात्र भीमकान्त भण्डारीसँग प्रहरीले बयान लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले आइतवार भण्डारीलाई कार्यालयमा बोलाएर बयान लिएको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्वमन्त्री पुनसहित पूर्व अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा रहेर काम गर्नुभएको थियो ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआइबीले कार्यालयमा बोलाएर बयान लिएको हो ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएको छ । भण्डारीको सम्पति रोक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजो बोलाएर सोधपुछ गरेको हो । बयान नसकिए पछि आज पनि थप बयान हुने जनाइएको छ ।

सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदानप्रदान गरेको तथ्य सीआईबीले अनुसन्धानको क्रममा फेला पारेको छ ।

स्रोतका अनुसार दावासँग भण्डारीले पटक–पटक ‘दाइ’ सम्बोधन गरेर फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको देखिएको छ । दावा हाल सीआईबीको नियन्त्रणमा छन । हङकङबाट असार २९ मा गाडी र स्कुटरका ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा दावा पक्राउ परेका थिए । त्यस्तै, गत पुस १० मा दुबईबाट विद्युतीय चुरोट ९भेप० मा लुकाएर ९ केजी सुन ल्याउने तस्करका अर्का नाइके दावाजिन वाङ भने फरार छन ।

वाङसहित सुन तस्करीको नेटवर्कमा देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि सीआईबीकै नियन्त्रणमा छन । दावा जोडिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसमेत अनुसन्धानको दायरामा छन । त्यसकै अनुसन्धान गर्ने क्रममा बिधका सञ्चालक भण्डारी पनि तानिएका हुन ।

प्रहरी स्रोतका अनुसार सुन तस्करसँग अस्वाभाविक सम्पर्क र संवाद र यही प्रकरणमा अनुसन्धानका क्रममा रहेका राहुल र दीपेशलगायत व्यक्तिसँगको भण्डारीको निकटता देखिएको छ ।

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । २०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए ।

यो समाचार पनि पढनोस

सुन तस्करीमा तानिए ४ माओवादी मन्त्रीका सचिवालय सदस्य