जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार १३:४६

खेतमै सुक्यो धान, चिन्तामा किसान


बेदकोट, २५ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउनुहुन्छ । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन,’ उहाँले भन्नुभयो,‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’

पुनर्वास–५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उहाँले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको थियो । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो । ‘बाढी पसेको दुई÷तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उहाँले भन्नुभयो,‘तीन बिघाको पूरै सुकिसक्यो ।’

उहाँका अनुसार पानी जमेको ठाउँमा दुई÷तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् । ‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भन्नुभयो,‘अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या छ ।’

डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उहाँले बताउनुभयो । ‘रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ’, उहाँले भन्नुभयो,‘अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन ।’ पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताउनुभयो । ‘सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो’, उहाँले भन्नुभयो,‘यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।’

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ । ‘परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो,‘दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।’