जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार १३:५४

एन्फाका अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं, भदौ २५ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित आज अध्यक्ष नेम्वाङ र महासचिव राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ जना सदस्यले हस्ताक्षर गर्नुभएको छ । एन्फाको साधारणसभामा ८६ जना सदस्य छन ।

अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ । अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाइएको हो । अविश्वासको प्रस्ताव सोमबार बिहानै इमेलमार्फत पठाएको र भौतिक रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाइएको छ ।

अबिश्वासको प्रस्ताव दर्ता गर्नेहरुले ‘अध्यक्ष नेम्वाङ र महासचिव राईले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिता गर्न नसकेको कारण पदमा कायम राखिरहँदा नेपाली फुटबल झन तल जाने निश्कर्षसहित यस्तो निर्णय लिएको बताएका छन । नेम्वाङ २०७९ असार मा एन्फाको अध्यक्ष चुनिनुभएको थियो । उहाँको कार्यकालको सुरुदेखि नै विवादमा पर्दै आएको छ ।

पछिल्लो विवाद भने विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णयलाई लिएर भएको हो । ए डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग गरेका थिए । तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजेपनि बहुमत सदस्य उपस्थित भएनन । सोमबार पनि अनलाइनमार्फत साधारण सभा राखिएको थियो, तर बहुमत सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरु हुन सकेन ।

अबिश्वासको प्रस्तावसँगै अध्यक्ष नेम्वाङले आज बोलाइएको साधरण सभा स्थगित गरेको एन्फा प्रवक्ता सुरेश शाहले जनाउनु भएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुले भने अध्यक्ष नेम्वाङ स्वतः निलम्बनमा परेकाले अब वरिष्ठ उपाध्यक्षले ३० दिनभित्र विशेष साधारणसभा बोलाउनु पर्ने अडान लिएका छन ।