जनता टाइम्स

२८ भाद्र २०८०, बिहीबार ११:२७

राजकीय सम्मानकासाथ नेम्वाङको शवयात्रा, केहीबेरमा आर्यघाटमा अन्तिम संस्कार गरिदै


काठमाडौं, भदौ २८ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि निवास बालुवाटारबाट निकालिएको छ ।

राजकीय सम्मानका साथ नेम्वाङको पार्थिव शरीर निवासबाट निकालेर अहिले पशुपति आर्यघाटतर्फ लगिएको छ । उहाँको निवासमै नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ । उहाँको शवयात्रामा सहभागी हुन र श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवासमै पुग्नुभएको छ ।

नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने छ ।

शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि बाटोमा पनि उल्लेख्य सहभागिता दखिएको छ ।

७१ वर्षीय नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर र बुधबार दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो । त्यसपछि बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

नेम्वाङको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ । सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ ।

विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मिनुभएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । अवको केही बेरमा पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिनेछ । उहाँको पार्थिव सरीरलाई आर्यघाट ल्याइपुर्याउनु अघि नै पशुपति क्षेत्र भरिएको छ ।