जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार ११:०६

बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याउने सवैको फेहरिस्त सावजनिक गरिन्छ : प्रधानमन्त्री ओली


‘मेरो नेतृत्वमा सरकार बनेपछि बालुवाटारको सरकारी जग्गा हडपिएको होइन, अहिले खोजी भएको हो, छानविन भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन-कुन सरकारले कसरी-कसरी, कुन प्रक्रियाबाट कसरी देशको सम्पत्तिलाई निजी बनाइएको छ, त्यो सवै सार्वजनिक हुन्छ । को को पर्छन म केही हेर्दिन ।’

काठमाडौं, बैशाख २१

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारदेखि देशभरका सार्वजनिक जग्गा हडप्नेबिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको भन्दै कसैसँग कुनै संझौता नहुने प्रष्ट पार्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकारसँगको सम्वादमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो । आफू नेतृत्वको सरकार गठन भएपछि सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने काम अघि बढेको तथ्य राख्दै प्रधानमन्त्री ओलीले अव जहिले, जुनसुकै बेला सरकारी जग्गा हडपिएको भएपनि फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभयो ।

‘मेरो नेतृत्वमा सरकार बनेपछि बालुवाटारको सरकारी जग्गा हडपिएको होइन, अहिले खोजी भएको हो, छानविन भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन-कुन सरकारले कसरी-कसरी, कुन प्रक्रियाबाट कसरी देशको सम्पत्तिलाई निजी बनाइएको छ, त्यो सवै सार्वजनिक हुन्छ । को को पर्छन म केही हेर्दिन ।’

उहाँले कहिले कुन सरकारको पालामा सरकारी जग्गा ब्यक्तिको नाममा गरियो भन्ने फेहरिस्त नै सार्वजनिक गर्ने जानकारी दिनुभयो । ‘सवै कुरा अहिले नै नभनौं, म यति मात्रै भन्छु, कुन सरकारको पालामा कस्ले कसरी सार्वजनिक सम्पत्ति ब्यक्तिको नाममा ल्याउने काम गर्यो ? त्यस्को फेहरिस्त नै सार्वजनिक हुन्छ, राष्ट्रको सम्पत्ति फिर्ता ल्याइन्छ, यस्मा म कुनै संझौता गर्दिन, कसलाई नाफा हुन्छ ? कसलाई घाटा हुन्छ केही हेर्दिन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले बिगतका सरकारले निर्णय गरेको भएपनि अहिले सच्याउने काम गरी सरकारी सम्पत्तिको संरक्षण गर्ने प्रष्ट पार्नुभयो ।