काठमाडौं, असोज २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति सङ्क्रमणबाट गुज्रिरहेको बताउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज आयोजित ‘सुवास र संविधान’ विषय कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
उहाँले मुलुक यस्तो अवस्थामा रहेको बेला समन्वय गर्ने व्यक्ति सुवासचन्द्र नेम्वाङको अभाव खड्किरहेको पोखरेलले बताउनुभयो । ‘संविधानलाई प्रभावकारी कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौँ’, महासचिव पोखरेलले भन्नुभयो ।
संविधान सभाका अध्यक्षको रूपमा नेम्वाङले सफल भूमिका निर्वाह गर्नुभएको भन्दै पोखरेलले जननिर्वाचित संविधान सभाले जारी गरेको जनअधिकार सहितको संविधान जारी गर्ने कुरामा उहाँको अगुवाइ रहेको बताउनु भयो । ‘संविधान जारी गर्ने बेलामा उहाँले अगुवाइ गर्नुभयो’, पोखरेलले भन्नुभयो ।
नेपालको राजनीतिका योद्धाका रूपमा र नेपालको कानुन र संविधानका विषयमा सबैका सल्लाहकारको रूपमा नेम्वाङले भूमिका निर्वाह गर्नुभएको पोखरेलले बताउनुभयो । जतिबेला संवैधानिक र कानुनी प्रश्न आउँछन, त्यतिबेला सबैले उहाँले के भन्नुहुन्छ भनेर पर्खने गरेको स्मरण पनि पोखरेलले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्