जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १४:१५

काठमाडौं महानगरले थाल्यो डेंगु न्युनिकरण अभियान


काठमाडौँ, भदौ २४ । काठमाडौं महानगरपालिका वडा नम्बर–२१ ले आज डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् डाक्टर अजयक्रान्ति शाक्यलगायतको अगुवाईमा सो वडाले डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको हो ।

‘टोल–टोलबाट उठौँ, गल्ली–गल्लीबाट उठौँ, डेंगुविरुद्ध सर–सफाईमा जुटौं, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लेकार्ड बोकेर लगनटोलबाट सुरु भएको र्यालीले भोटेवहाल, सुन्धारा, जैसीदेवललगायतका स्थानको परिक्रमा गरेको थियो । र्यालीपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले डेंगु न्युनिकरणका लागि यस्ता जनचेतनामुलुक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

‘डेंगु अहिले भयावह बन्दै गएको अवस्थामा महानगरपालिकाले न्युनिकरणका लागि पहल थालेको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘यस्तो जनचेतानामुलक काम यो वडामा मात्रै सिमित हुनुहुँदैन महानगरभित्रका ३२ वटै वडामा हामीले न्युनिकरणको प्रयास थालेका छौँ ।’

उहाँले अहिले यसलाई कसरी रोकथाम गर्ने भन्ने विधि नै नभएकाले न्युनिकरणको प्रयासमा महानगरपालिका लागेको पनि बताउनुभयो । ‘डेंगुबाट बच्ने उपायका बारेमा महानगरवासीलाई जानकारी दिनका लागि पनि यो अभियान चलाएका हौँ,’ उहाँले भन्नुभयो, ‘केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर हामी अझ प्रभावकारी ढंगले अघि बढ्छौँ ।’

२१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले पनि यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘वडा नम्बर २१ सफाई मजदुरको बसोबास भएको क्षेत्र पनि हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी जनचेतनामुलुक अभियान चलाउनु पर्ने भएकाले हामीले यो अभियान चलाएका हौँ ।’ उहाँले अब घर–घरमा वडा स्वास्थ्य स्वयसेवीलाई जनचेतना अभियानसहित पठाउने जानकारी पनि दिनुभयो ।