दाङ, ४ असोज । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गर्नुभएको छ । आज मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीर मुख्यमन्त्रीबीच भेटघाट भएको हो । राउटे शाहीले सरकारसँग दशैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गर्नुभएको छ ।
अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो, उहाँले भन्नुभयो,‘८६ घर जनता छ, खसी खान सरकारले २ लाख दिनुपर्छ । सबै मन्त्रीहरुले हामीलाई दशै खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ’। उहाँले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताउनुभयो ।
‘तिज खर्चकै लागि आएका हौै, उहाँले थप्नुभयो,‘तीज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।’ मुख्यमन्त्री चौधरीले राज्य राउटे समुदायको लागि सहयोग गर्न, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताउनुभयो ।
राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘२÷३ दिनमा सरकारको केहि सहयोग हुन्छ ।’ भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालकोसमेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्