दोहा, ६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आर.के) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फकृनुभएको छ । गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्कनुभएको थियो ।
अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गर्नुभएको छ । शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजना सहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी गराउनुभएको छ । २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्नुहुनेछ ।
शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गरिसक्नुभएको छ । उहाँले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताउनुभयो ।
शर्मा एनआरएनए जापान, कोरिया, हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो । एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुदैँ आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । अधिवेसन सम्पन्न भएका ५९ एनसिसीमध्ये प्रायः सबै ठाउँमा आफै पुग्नुभएपछि आफ्नो पक्षमा राम्रो माहोल बनेको र अबको एनआरएनको अध्यक्ष आफू नै हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्