जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १२:१९

‘सडक २’ मा बलिउड अभिनेत्री आलिया


मुम्बई, बैशाख २१

बलिउड अभिनेत्री आलिया भट्ट ‘सडक २’ को सुटिङको तयारीमा जुटेकी छन् । यसअघि निर्माता करण जौहरको चलचित्र ‘कलंक’ असफल भए पनि यस चलचित्रलाई आलियाले निकै महत्वका साथ हेरेकी छन् । २८ वर्षअघि निकै चलेको रोमान्टिक चलचित्र ‘सडक’ को सिक्वेल रुपमा ‘सडक २’ बन्न लागेको हो ।

अभिनेत्री आलियाका पिता महेश भट्टले निर्देशन गर्ने यो चलचित्रमा पहिलोपटक उनले काम गर्दैछिन् । यस चलचित्रमा आलियाका साथै अभिनेता आदित्य राय कपुर, सञ्जय दत्त र पूजा भट्टको पनि अभिनय रहने छ । सन् १९९१ मा बनेको ‘सडक’ मा आलियाकी दिदी अभिनेत्री पूजा र सञ्जय दत्तले मुख्य भूमिका निर्वाह गरेका थिए ।

‘सडक २’ मा आलिया सर्वसाधारणलाई झुक्याएर आश्रम चलाउने नक्कली गुरुको चरित्र उदांगो पार्ने भूमिकामा देखिने जनाइएको छ । यो काममा सञ्जयले आलियालाई सघाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्देशक भट्टले नक्कली गुरुको भूमिकामा अभिनय गर्ने कलाकारको बारेमा केही बताउन चाहेनन् । उनले भने, ‘यसका लागि एक्टरको कास्टिङ जारी छ, केही समयमै सार्वजनिक हुन्छ ।’