जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १३:४१

डेङ्गु फैलिन नदिन लार्भा नष्ट अभियान


बाँके, भदौ २५

बाँकेमा डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका ७ जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।

खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । भियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताउनुभयो । उहाँका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ ।

गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेङ्गुु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बाँकेमा हालसम्म डेङ्गुु रोगबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका छन् भने अन्य छ जना बाहिरी जिल्लाका बिरामी रहेका छन् । बाँकेभन्दा अन्य जिल्लाबाट नेपालगञ्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेङ्गुु फेला परेको हो । बाँके जिल्लामा ठूलो समस्याको रूपमा नदेखिए पनि डेङ्गुु रोगको सङ्क्रमणको जोखिम रहेकोले पूर्वसतर्कता अपनाउनु पर्ने डा. अधिकारीको भनाइ छ ।

डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गुु रोग फैलाउने लामखुट्टे नियन्त्रण र स्वास्थ्य सचेतनाका लागि प्रचारप्रसारको काम स्वास्थ्य कार्यालयले गरिरहेको छ ।