जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार १५:४१

एमाले बागमती अधिवेशन : सहमतिको प्रयाश बिफल, आज साँझ ६ बजेदेखि मतदान


काठमाडौं, असोज ११ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयाश बिफल भएको छ ।

उपमहासचिवद्वय प्रदीप ज्ञवाली, बिष्णु रिमाल, बागमती प्रदेश इञ्चार्ज गुरु बरालसहितका नेताहरुले सहमतिको प्रयाश अघि बढाए पनि उम्मेदवारहरुले दावी नछाडेपछि निर्वाचन तालिका सार्वजनिक भएको छ । सहमति नभए निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम संशोधनसहित सर्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार अब साँझ ६ बजेपछि मतदान हुनेछ ।

यसअघि पनि कार्यतालिक पटक पटक परिवर्तन हुँदै आइरहेको छ । अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन, निर्णय, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजेबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनानको उम्मेदवारी परेको छ । मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल र केशरबहादुर बुढाथोकी तथा काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । अध्यक्षमा नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गरेको सूची हिजो सार्वजनिक भएको भए पनि पाण्डेले दर्ता नगरेको बताए पछि चार जनाको उम्मेदवारी कायम राखिएको हो । नेकपा एमाले बागमती प्रदेशको ५ पदाधिकारीमा २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा ४ जनाको उम्मेदवारीसहित कुल पाँच पदका लागि २५ जनाको उम्मेदवारी परेको हो । यस्तै उपाध्यक्षमा दोलखाका पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित चितवनका दावादोर्जे लामा, नुवाकोटका नारायणप्रसाद खतिवडा, मकवानपुरका सुवासचन्द्र ठकुरी, र भक्तपुरका राजेन्द्र राजथलाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सचिवमा नवराज सिलवाल, रत्ना गुरूङ, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसचिव (२ पद) का लागि १२ जनाको उम्मेदवारी परेको छ । उपसचिव एक पदमा महिला निर्वाचित हुने प्रावधान निर्वाचन समितिले राखेको छ ।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिनुभएको छ । सदस्यमा पनि ठूलो संख्यामा उम्मेदवारी परेको छ ।