जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार १५:१४

एमाले कर्णाली अधिवेशन : प्रेमबहादुर सिंह र राजबहादुर शाहीको उम्मेदवारी फिर्ता, आजै मतदान


सुर्खेत, असोज १२ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । पार्टीको केन्द्रीय नेतृत्वको चाहनाबिपरित अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताउनु भयो ।

‘केन्द्रीय नेतृत्वको चाहनाविपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने तथ्यलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगें,’ शाहीले बिज्ञप्तीमार्फत भन्नुभएको छ ।

शाहीले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको तर सो चाहना पूरा नभएको बताउनु भएको छ । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दिएका थिए । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य प्रतिस्पर्धा भने शाही र शाहबीच हुने देखिएको छ । कर्णाली प्रदेशमा आज नै मतदान हुने निर्वाचन समितिले जनाएको छ ।