जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १२:४४

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पुर्याउन सुझाव


चितवन, बैशाख २१

दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पुर्याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन् । मेरुदण्डका चिकित्सकको संस्था एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपाल र भरतपुर अस्पतालले शुक्रबार आयोजना गरेको सुसुम्न नाडी (स्पाईनल कडं) र चोटपटक एवं सङ्क्रमण विषयक एक दिवसीय सम–गोष्ठीमा सहभागी विज्ञले यस्तो जनाएका हुन् ।

स्पाइनल सर्जन अफ नेपालका अध्यक्ष प्रा. डा. रवीन्द्रलाल प्रधानले दुर्घटना हुँदा मेरुदण्डमा आंशिक असर पुगेका कतिपय घाइते अस्पतालसम्म पुग्दा पूर्णरुपमा क्षति भएको अवस्थामा पुग्ने गरेको पाइएको बताउनुभयो । आंशिक क्षति भएकालाई उपचारपछि पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भने पूर्णरुपमा क्षति भएकालाई फर्काउन कठिन हुन्छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले घाइतेको शरीरलाई चलमल हुन नदिने गरी मुढोजस्तो बनाएर अस्पतालसम्म ल्याउनुपर्ने बताउनुभयो । कतिपय घाइतेको दुर्घटना भएलगत्तै खुट्टाका औँला चल्ने गरेको तर अस्पताल आएपछि नचल्ने गरेको पाइएको भन्दै उहाँले अस्पतालसम्म ल्याउँदा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

पछिल्ला वर्षमा घाइतेलाई उद्धार गरेर अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा जनचेतना दिने काम भइरहेको पौडेलले बताउनुभयो । डा. प्रधानले सम–गोष्ठीमा सहभागी चिकित्सकबीचमा सीपको आदानप्रदानसँगै उपचारका नयाँ पद्धतिको बारेमा एकापसमा ज्ञान आदानप्रदान गरिएको बताउनुभयो । विज्ञ चिकित्सकले मेरुदण्ड उपचार पद्धति एवं सङ्क्रमण भएको अवस्थामा गरिने उपचार र शल्यक्रियाका विषयमा फरक–फरक कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार देशभरमा हरेक वर्ष एक हजार हाराहारीको मेरुदण्डको शल्यक्रिया हुने गरेको तथ्याङ्क रहेको छ । शल्यक्रिया गर्न हुँदैन भन्ने भ्रम रहेको भन्दै उहाँले यसलाई चिरेर समयमा शल्यक्रिया गर्नसकेमा पूर्णरुपमा समस्या नभएकालाई पूर्ववत् अवस्थामा फर्काउन र पूर्ण क्षति भएकालाई सहजीकरण गराउन सकिने बताउनुभयो । डा. पौडेलका अनुसार सम–गोष्ठीमा देशभरबाट ६० चिकित्सक सहभागी भएका थिए ।