जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १७:२४

विमान दुर्घटनामा भारतीय अर्बपति, छोरासहित ६ जनाको मृत्यु


एजेन्सी, १५ असोज । जिम्बावेमा भएको विमान दुर्घटनामा भारतीय अर्बपति उद्योगपति र उनका छोरासहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनाको शिकार भएको विमान एक भारतीय उद्योगपतिको कम्पनीको निजी विमान थियो, जुन जिम्बाब्वेको दक्षिण–पश्चिम क्षेत्रमा रहेको हिरा खानी नजिकै दुर्घटनामा परेको थियो । मिडिया रिपोर्टका अनुसार विमान प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु भएका अर्बपति हरपाल सिंह रन्धावा जिम्बाब्वेमा सुन, कोइला खानी गर्ने र निकल र तामा जस्ता धातुहरू रिफाइन गर्ने काम गर्ने रियोजिम नामक खानी कम्पनीका मालिक थिए । विमान दुर्घटनामा ज्यान गुमाउनेमा हरपाल सिंह रन्धावा, उनका छोरा र चार जना रहेका छन् । दुर्घटनामा परेको विमान सेसेना २०६ विमान थियो । यो एकल इन्जिन विमान कम्पनी रियोजिम को स्वामित्वमा थियो ।

राजधानी हरारेबाट मुरोवा हिरा खानीतर्फ जाँदै गरेको विमान मशावा क्षेत्रमा दुर्घटनामा परेको थियो । जसमा विमानमा सवार सबै ६ जनाको मृत्यु भएको थियो । घटना शुक्रबार बिहान ७।३० देखि ८ बजेको बीचमा भएको हो । सञ्चारमाध्यमका अनुसार प्राविधिक गडबडीका कारण विमान हावामै विस्फोट भएको हो । मृतकको नाम खुल्न बाँकी छ तर हरपाल सिंह रन्धावाका साथी तथा फिल्म निर्माता होपवेल चिनोनोले हरपाल सिंह रन्धावाको मृत्यु भएको पुष्टि गरेका छन् ।

कम्पनीले पनि विज्ञप्ति जारी गर्दै रन्धावाको मृत्यु भएको पुष्टि गरेको छ । रंधवा चार अर्ब डलरको इक्विटी फर्म जेम होल्डिङका संस्थापक हुन् ।