जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १५:०९

बिमानस्थलबाट भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक वाङका चालक पक्राउ


काठमाडौं, असोज १७ । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले वाङका चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो । ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई चौतर्फी दबाबपछि सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो । गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।

सो तस्करी प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उहाँका छोरा राहुलको नाम समेत उल्लेख भएपछि महरा बाबुछोरामाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।