जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १८:५२

सोमबारदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला, अनलाइन टिकट काट्न सकिने


काठमाडौं, १९ असोज । दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उहाँले बताउनुभयो । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ । यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिनुभयो । छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उहाँको भनाइ छ । घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ ।