बारम्बार, हामी कम्युनिष्टहरु के भन्छौं र के आवाज उठाउछौं भने छिटफुट सामन्ती तथा बृहतर पुँजीवादी उत्पादनका सम्बन्धहरुमा श्रमजीवी उत्पादक शक्तिको अधिपत्य हुनुपर्छ तबमात्र संसारबाट असमानता, गरिबी, भोकमारी र सबैखाले उत्पीडनको अन्त्य हुनेछ । तबमात्र मानव मावनबीचको सम्बन्ध सौहार्दपूर्ण हुनेछ । त्यो नै श्रमजीवीवर्गको क्रान्तिकारी लाल झण्डा बोक्ने हामी कम्युनिष्टहरुले भन्ने गरेको शोषणरहित, वर्गरहित साम्यवाद हुनेछ ।
शरोजकुमार तामाङ
आजको पुँजीवादी युगमा श्रमजीवीवर्गलाई कानूनी हैसियतले स्वतन्त्रता दिएको छ । यसरी हेर्दा हाम्रो नांगो आँखाले श्रमको बाध्यकारी शोषण देखिदैन तर फरक कहाँ हो भने हिजो दासयुग र सामन्तीयुगमा जुन उत्पादनका साधनहरु श्रमजीवी वर्गसँगै हुन्थ्यो, त्यो श्रमजीवी वर्गसँग रहेका उत्पादनका साधनहरु आज पुँजीपति वर्गहरुले खोसेर ठूल्ठुला कलकारखानाहरू संचालन गर्दै आएका छन ।
यसरी श्रमजीवीवर्गसँगै रहेका उत्पादनका साधनहरु खोसेर पुँजीवादले नाम मात्रको ब्यक्तिगत स्वतन्त्रता दिएको छ । जसले गर्दा श्रमिकहरुलाई आफ्नो सीप र क्षमताबाट संचालित उत्पादनका औंजारहरुबाट मात्रै निरीह होइन, पुँजीपतिहरुले जसरी भन्छ, त्यसरी नै काममा लगाउन पाउने भयो । जति घण्टा भन्यो, त्यति नै घण्टा काममा दलिनु पर्यो । शोषकको बिरुद्ध आवाज उठाउन नपाउँने भो । टाउको उठायो भने आफ्नै भोको पेटले सोधिने प्रश्नको जवाफ नहुने भो किनकि पुँजीवादले श्रमजीवीवर्गका हातहरुबाट उत्पादनका साधनहरु खोसिसके । ऊसँग भएको अर्थोपार्जनका स्रोतसाधन नै खोसेपछि के को स्वतन्त्रता ? यो त श्रमिकहरुलाई भयंकर गरिबीको चक्करमा फसाउने बाहेक अन्य केही होइन ।
पुँजीवादीहरुले यसैलाई विज्ञान र प्रविधिको उपमा दिए । हुनुपर्ने के थियो भने ती श्रमजीवीवर्ग मातहत रहेका उत्पादनका साधनहरुलाई विज्ञान र प्रविधिको नाममा खोसिने होइन, त्यसलाई अत्याधुनिक बनाउँदै मात्रात्मक र गुणात्मक वस्तु तथा सेवाहरु उत्पादन गर्नमा जानुपर्थ्यो, जुन गरिएन । यसो किन पनि भयो भने यदि श्रमजीवीवर्गका (उत्पादक शक्ति) उत्पादनका साधनहरुलाई पुँजीपतिवर्गहरुले आफ्नो अधीनमा नराखेको खण्डमा आफ्नो अतिरिक्त नाफाको साम्राज्यवाद संसारभर फैलाउन सकिदैँन्थ्यो । नेपाल जस्तैः प्रकृतिक स्रोत र साधनले सम्पन्न संसारका धनी मुलुकहरुलाई आफ्नो बसमा पार्न सकिदैँन्थ्यो र त्यो ठाउँहरुको बजारलाई आफ्नो विलासि मालहरुले ढाक्दै शोषण गर्दै मिल्दैन्थ्यो । त्यसैले, अत्याधिक नाफाको दौंडमा रहेका पुँजीपतिवर्गहरुले सर्वप्रथमतः उत्पादक शक्तिका उत्पादन साधनहरुमाथि प्रहार गर्न शुरु गरे ।
फलस्वरुपः यो त विगतको दासयुग र सामन्तीयुगमा भन्दापनि जीर्ण जीवन निर्वाह गर्न संसारभरका श्रमिकहरुले बाध्य हुनुपरेको छ । त्यो बेला श्रमजीवीवर्गसँगै उत्पादनका साधनहरु रहने हुँदा दास–स्वामी र सामन्तीहरुले वस्तु तथा सेवा उत्पादन गर्न श्रमिकहरुको न्यूनतम आधारभूत आवश्यकता ग्यारेन्टीका साथ उपलब्ध गर्नुपर्थ्यो तर अहिलेको पुँजीवादमा श्रमिकहरुलाई गाँस, बास, कपास लगायत शिक्षा, स्वास्थ्य जस्ता दैनिक जिविकासँग सम्बन्धित आवश्यकताहरुलाई पूर्ति गर्नु पर्ने बाध्यता रहेन् किनकि श्रमिकसँग भएका उसका शक्तिशाली चीज (उत्पादनका साधन) नै पुँजीपतिवर्गको पंजामा पुगिसके ।
त्यसैले, हिजोको दासयुग र सामन्तीयुगमा भन्दा बढी श्रमजीवीवर्गहरु आज बेरोजगार हुनुपरेको छ । समाजको ऐतिहासिक विकासक्रमदेखी नै निखार्दै आएका उपभोग्य वस्तु तथा सेवा उत्पादनका आफ्ना सीप, कौशल र क्षमताको संस्कार र संस्कृतिमा पूर्णबिराम लगाउन बाध्य बनाउँदैछ । हिजोका ऐतिहासिक श्रमजीवी कला र संस्कृतिलाई आजको नाफामूलक रटानको पुँजीवादले कोमामा पुर्याउँदैछ । जसले गर्दा श्रमजीवीवर्गको परिवारमा आर्थिक संकटले भोको पेटहरुमा निर्दयी लात हान्दा कोही सुकुम्बासी; कोही सामाजिक हिंसा, हत्या र आतंकमा जबर्जस्त होमिन परेको सादृष्य कुनै सिनेमाको क्षणिक मनोरञ्जनात्मक कथा भन्दा कमको छैन् ।
गरिबीको मनोभावनामाथि प्रहार गरेर नाफाको निम्ति बनाइएका यस्ता फिल्महरुमा हामीले आफूलाई काल्पनिक क्रान्तिकारीको तप्कामा केही घण्टा उभ्याउँछौं तर त्यही दृष्य जब हाम्रै घरआँगनमा बिना क्यामाराम्यान र बिना निर्देशक सित्तैमा हल बाहिर कथाको मागले होइन, समाजको वस्तुगत परिस्थितिले निम्त्याउँछ; त्यो बेला क्रान्तिकारी हुनुपर्नेमा प्रतिक्रान्तिको भूमिका सहर्ष स्वीकार्छौं । यसरी आर्थिक समस्या र भोकमारीको कसौटीमा घृणाले भुटिएर आजित भएका युवा दस्ताहरु रोजगारीको निम्ति विदेशिन बाध्य हुनुपरेको छ । विदेशीय पनि साम्राज्यवादको जालोभित्र रहेका पुँजीवादको न्यून बेतनको बाध्यकारी नीतिभित्र नअटे रोजीरोटी खोसिने डर हमेसा हुनेछ । यी सम्पूर्ण शोषण र उत्पीडनबाट मुक्त हुन हामी श्रमजीवीवर्गहरु एकमात्र कम्युनिष्टको मुक्तिकामी झण्डामुनि गोलबन्द हुनुको विकल्प रहदैँन् ।
मार्क्सले भने झैं, ’हे विश्वका मजदूर एवम् सर्वहारावर्गहरु हो ! मुक्तिको निम्ति आवाज उठाऔं, ती शताब्दीऔंदेखी जरा गाड्दै आएका शोषण, दमन र उत्पीडनका जंजीरलाई चुडाल्न मोर्चा कसौं किनकि हामीसँग गुमाउनको लागि एकसरो कपडा बाहेक केही छैन् तर जित्यौं भने सारा संसार नै हाम्रो रहनेछ ।’ यदि पुँजीवादले वस्तु तथा सेवा उत्पादन गर्ने श्रमजीवीवर्गका उत्पादनका साधन एवम् औंजारहरुलाई नछिनेको भए आज विकराल बेरोजगारी समस्या देखिदैन्थ्यो होला ।
बारम्बार, हामी कम्युनिष्टहरु के भन्छौं र के आवाज उठाउछौं भने छिटफुट सामन्ती तथा बृहतर पुँजीवादी उत्पादनका सम्बन्धहरुमा श्रमजीवी उत्पादक शक्तिको अधिपत्य हुनुपर्छ तबमात्र संसारबाट असमानता, गरिबी, भोकमारी र सबैखाले उत्पीडनको अन्त्य हुनेछ । तबमात्र मानव मावनबीचको सम्बन्ध सौहार्दपूर्ण हुनेछ । त्यो नै श्रमजीवीवर्गको क्रान्तिकारी लाल झण्डा बोक्ने हामी कम्युनिष्टहरुले भन्ने गरेको शोषणरहित, वर्गरहित साम्यवाद हुनेछ ।













प्रतिक्रिया दिनुहोस्