काठमाडौं, भदौ २३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २४ गतेको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछि परेको बताउँदै आज रमाउनेहरूले भोलि आफै भोग्ने तथ्य औँल्याउनु भएको छ ।
गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनको नाममा आततायी समूहले जलाएको बालकोटस्थित घरमा पुग्नुभएका ओलीले सञ्चारकर्मीहरूसँग कुरा यस्तो बताउनु भएको हो । उहाँले भदौ २४ गते देशका लागि कालो दिन भएको तथ्य पनि औँल्याउनु भयो ।
‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्। त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि भोग्नेछन्,’ ओलीले भन्नुभयो ।

यस्तै उहाँले गृहमन्त्री सुधन गुरुङको सार्वजनिक धम्कीप्रति कडा व्यङ्ग्य गर्नुभयो । मंगलबार गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिनुभएको थियो । यस विषयमा प्रश्न गर्दा ओलीले ‘हामीले उहाँहरूको प्रशंसा गर्नुपर्ने ?’ भन्दै प्रतिप्रश्न गर्नुभयो ।
‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ। त्यही होइन र भन्या ?’ ओलीले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’














प्रतिक्रिया दिनुहोस्