जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १३:०६

बेलायती निर्वाचनमा चार नेपाली विजयी, कोलबर्न टाउनमा डा. जगन्नाथ शर्माको ह्याट्रिक


लन्डन, बैशाख २१

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका चार उम्मेदवार विजयी भएका छन । स्थानीय अल्डरसट टाउन काउन्सिलमा नेपाली मुलका प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवद्र्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित हुनुभएको हो ।

बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भएका छन । बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा पहिलो पटक नेपाली समुदायबाट केसी निर्वाचित हुनुभएको हो । उहाँ कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बन्नुभएको थियो ।

केसीले ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा केसीले उल्ट्याउनु भएको हो । यस्तै लिबेरल डेमोक्र्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । खड्का निर्वाचित क्षेत्र विगत लामो समयदेखि उहाँकै दल लिबेरल डेमोक्र्याटको पकड क्षेत्र हो ।

यस्तै सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित हुनुभएको छ । सिलवाल ७ सय २४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । यस्तै डा. जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिल निर्वाचित हुनुभएको छ । कन्जरभेटिभ पार्टीको तर्फबाट चुनाव लडनुभएका शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

इङ्ल्यान्डका २ सय ४८ काउन्सिल, ६ मेयर र नर्दन आयरल्यान्डका ११ काउन्सिलसहितका स्थानीय तहमा ८ हजारभन्दा बढी जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो । सो निर्वाचनमा दुई नेपाली मुलका ब्यक्ति पहिलो पटक निर्वाचित हुनुभएको हो भने दुई जना दोस्रो र तेस्रो पटक निर्वाचित हुनुभएको हो ।