दमौली, भदौ २६
दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।
कूल रु ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले रु ५० लाख र भीमाद नगरपालिकाले रु ४० लाख साझेदारी गरेका छन् । खानेपानी आयोजनाबाट यहाँका ४८ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार मान्द्रेढुङ्गा मूलको पानी १७४ मिटर लिफ्टिङ गरी उपभोक्ताको घर–घरमा जडान गरिएको छ ।“सोलार भन्दा कम खर्चिलो हुने भएकोले बिजुलीबाट लिफ्ट गरेर खानेपानी उपभोक्ताको घर–घरमा पुर्याइएको छ,” उहाँले भन्नुभयो,“७५ घरधुरीमध्ये २७ घरधुरीमा गत वर्ष नै धारा जडान गरिसकिएको थियो ।”
खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयवासी घरमै पानी आएपछि खुशी भएको स्थानीयवासी सानीमाया थापाले बताउनुभयो । “खानेपानीको जोहो गर्न घण्टौं समय कुवामा लाइन बस्नुपथ्र्यो” उहाँले भन्नुभयो, “अहिले घरमै धारा खोलेपछि पानी आउने भएपछि सजिलो भएको छ ।” भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खानेपानीको समस्या रहेका यहाँका स्थानीयवासीलाई स्वच्छ पानी खुवाउन प्रदेश सरकारसँग साझेदारी गरिएको बताउनुभयो ।
“स्थानीय सरकारको एक्लैको लगानीले मात्र खानेपानी व्यवस्था गर्न कठिन हुन्थ्यो,” थापाले भन्नुभयो,“प्रदेश सरकारले रु ५० लाख लगानी गरेपछि नगरपालिकाले पनि रु ४० लाख लगानी गर्यो।” थापाले नगरपालिकाभित्रका अन्य ठाउँमा पनि खानेपानीको समस्या रहेकाले विस्तारै उक्त ठाउँमा खानेपानीको सुविधा पुर्याइने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्