जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १७:५७

लागूऔषध र आठ लाख नगदसहित पाँच जना पक्राउ


मकवानपुर, २१ असोज । लागूऔषध कारोबारमा संलग्न पाँच जनालाई मकवानपुर प्रहरीले आठ लाख नगदसहित पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाईं रहेका छन् ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो । मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उनले जानकारी दिए। नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।