जनता टाइम्स

२६ भाद्र २०७६, बिहीबार १७:२५

बालुवाटार जग्गा छानविन समितिको म्याद थप, बिप्लव समुहबाट भोजपुरमा मारिएका प्रहरी जवान शहीद घोषित


काठमाडौं, भदौ २६ । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न गठित समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ । सरकारले पनि २८ फागुन २०७५ को निर्णयअनुसार सरकारी, गुठी र सरकारद्धारा अधिग्रहरण तथा जफत भएका जग्गा हिनामिना भएको विषयमा छानविनसमितिको प्रतिवेदन कार्यान्वयन गर्न सीआईबीको अर्को टोली बनाएको थियो ।

यस्तै सरकारले भोजपुर जिल्लामा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान भई ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रहरी जवान राईलाई शहीद घोषणाका साथै परिवारलाई १० लाख दिने निर्णय गरेको जानकारी दिनुभयो।

गत असार २५ गते भोजपुर जिल्लाको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो।