जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०८:००

गृहमन्त्रीका भाइले लिएका थिए प्रहरी मिलाउने जिम्मा : थियो ८६ जना व्यापारीसँग फिरौती असुल्ने योजना


काठमाडौं, भदौ २७ । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा, बादलका भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएपछ सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

ब्युरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रूपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिलेर फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुनमगर छन् । वीरबल केन्द्रीय कारागारको सुरक्षामा खटिएका प्रहरी जवान हुन् । अदालतमा प्रजापति, लामा र भट्टराईको बयान बिहीबार सकिएको छ । सबैको बयान नसकिएकाले उनीहरू शुक्रबार र शनिबार हिरासतमै रहनेछन् । आइतबार पुनः बयान लिइने र त्यसपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ । ब्युरोले कारागारमा रहेका गुण्डा नाइके समीरमानलाई पनि प्रतिवादी बनाएको छ ।

प्रहरीका अनुसार वीरबलले समीरमानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्‍याउन सघाएका थिए । पक्राउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबलले मोबाइल जेलभित्र पुर्‍याउन भूमिका खेलेको बयान दिएका छन् । कान्तिपुर दैनिकका अनुसार समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए । प्रहरीका अनुसार साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको देखिएको छ । रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाइ नरेश जोडिएका हुन् ।

वीरबलले दिएको फोन प्रवेशले समीरमानलाई उपलब्ध गराएको अनुसन्धानबाट पत्ता लागेको छ । समीरमानले जेलभित्रैबाट फोन र एसएमएसमार्फत फिरौती धन्दा अघि बढाएका थिए तर उनले अधिकांश एसएमएस डिलिट गरेको एक अनुसन्धान अधिकारीले बताए । ब्युरोले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा उक्त मोबाइल परीक्षण गरेर झन्डै ७० प्रतिशत म्यासेज ‘रिकभर’ गरेको थियो ।

गौचन हत्याको तीन महिनापछि भारतबाट पक्राउ परेका समीरमानलाई ललितपुरको नक्खु कारागार पुर्‍याइएको थियो तर जेलभित्रैबाटसञ्जाल चलाएको सूचना पाएपछि गृह मन्त्रालयको पहलमा २०७५ असोज १५ मा उनलाई मुस्ताङ कारागार सारिएको थियो । त्यसलगत्तै उनकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतको आदेशमा उनलाई पुनः राजधानी ल्याएर केन्द्रीय कारागार सुन्धारामा राखिएको हो ।

समीरमानले शैलेश र पवनमार्फत नरेशसँग सम्पर्क बढाएका थिए । स्रोतका अनुसार रानीवन र सिटी सेन्टरमा बारम्बार भेट्ने गरेका पवन, शैलेश र नरेशबीच फोन सम्पर्क पनि बाक्लै भएको देखिन्छ । फिरौती असुली योजना र समीरमानलाई काठमाडौंबाहिरका जेलमा सरुवा नगर्ने व्यवस्था मिलाउन पनि उनीहरूबीच कुराकानी भएको हुन सक्ने देखिन्छ ।

पवनले नरेशसँग भएको कुराकानी दुबईमा रहेका जावेदलाई फेसबुक म्यासेन्जरमार्फत पठाएको अनुसन्धानमा खुलेपछि ब्युरोले सुरेनलाई बोलाएको थियो । एक अनुसन्धान अधिकारीले नरेशको संलग्नता तेस्रो पक्षका रूपमा मात्रै देखिएको बताए । फिरौती संकलनमा नरेशको नाम मुछिएकैले उनी पक्राउ परे पनि रकम लिएको वा भाग खोजेको भन्ने तथ्य अनुसन्धानमा खुलेको छैन ।

पवनले नरेशसँग भएको कुराकानी भन्दै जावेदलाई पठाएको सन्देशमा फिरौती संकलनमा केही अप्ठ्यारो परे नरेशले मिलाउने उल्लेख छ । कामका क्रममा केही गाह्रोसाह्रो परे नरेशले प्रहरी र गृह प्रशासन सबैलाई मिलाउन सक्ने कुराकानी भएको देखिन्छ । पवनले जावेदसँग केही अप्ठ्यारो परे नरेशले मान्छे भगाउन पनि सहयोग गर्ने बताएका छन् । ब्युरोले नरेशले केन्द्रीय कारागारमै पुगेर समीरमानलाई भेटेको तथ्य बटुलेको छ । तर केन्द्रीय कारागारको आगन्तुक पुस्तिकाको सूचीमा भने नरेशको नाम देखिँदैन ।