काठमाडौं, भदौ २७ । सरकारले डेंगी रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेंगी रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले बिहीबार सिंंहदरबारमा भएको नियमित पत्रकार भेटघाटका क्रममा भन्नुभयो, नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु संघसंस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ, रोग फैलँदै गएको भए पनि नियन्त्रण बाहिर भने छैन तर यसले दुःख भने दिएको छ, सबै मिलेर समाधान गर्नुपर्छ ।
उहाँले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।
पछिल्लो प्रतिवेदनले विश्वमा झण्डै ४० करोड मानिस यो रोगबाट प्रभावित भएको र तीन अर्ब मानिस संक्रमणको जोखिममा रहेको तथ्यांक विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको भन्दै उहाँले नेपालमा बिरामीको उपचारमा स्रोतसाधनको व्यवस्था मिलाउने र जनचेतना फैलाउने काम सरकारले गरिरहेको बताउनुभयो । एक्लो सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भनाइ मन्त्री बाँस्कोटाको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको वैशाखदेखि फैलिएको रोग देशका ४८ जिल्लामा देखापरेको छ । वैशाख महिनायता झण्डै ७० हजार जनाले रोगका बारेमा स्वास्थ्य परीक्षण गराएकामा झण्डै ६ हजार जना रोगको संक्रमणबाट प्रभावित भएका पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबारसम्म यस रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाण्डौमा दुई र डोटीमा एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्