जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार ०८:१३

वरिष्ठ सईको हत्या आरोपमा थप एक पक्राउ


बागलुङ, असोज २७ । वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बडिगाड गाउँपालिका वडा नं ६ स्थित प्रहरी चौकी इन्चार्ज पौडेलको गत साउन ४ गते हत्या भएको थियो ।
हत्या आरोपमा आशा खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोद पक्राउ परेको तीन महिनापछि स्थानीय १९ वर्षीय विशाल सुनार पनि पक्राउ परेका हुन् ।

‘अनुसन्धानको क्रममा सुनार पनि संलग्न भएको खुल्यो,’ प्रहरी नायब उपरीक्षक मदन केसीले भन्नुभयो , ‘म्याद थप गरेर उनको अनुसन्धान भइरहेको छ ।’ ड्युटीबाट फर्केर खाजा खान गएका वरिष्ठ सई पौडेलको उक्त दिन राति १० बजे हत्या भएको थियो । होटल सञ्चालक आशा कुँवरसँग भनाभन भएपछि कुँवर र उनकै छोरा विनोदले टाउकोमा मुक्का हानेर बेहोस् बनाएपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी रिपोर्ट आएको थियो । अनुसन्धानको क्रममा प्रहरीले बिहीबार सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।