जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार ०९:३२

मुख्यमन्त्रीमा गठबन्धनको दाबी कमजोर हो : माओवादी


विराटनगर, असोज २७  । संविधानको धारा १६८ को (५) अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाउनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको नेपाली कांग्रेस विद्रोही समूहका सांसदका लागि बिहान ८ बजेदेखि ११ बजेको समय तोकिएको छ । उनीहरूको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार इन्द्रबहादुर आङ्बोका लागि ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखले दाबी गर्नका लागि दिएको समय सकिएपछि कांग्रेसको विद्रोही समूहका ८ जना र नेकपा एमालेका ३९ जना सांसद शुक्रबार बेलुका प्रदेश प्रमुखको कार्यालयमा पुग्नुभएको थियो ।

गठबन्धनले के गर्छ ?

प्रदेश प्रमुखले हस्ताक्षर सनाखतका लागि बोलाएपछि सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारका समर्थक जाने नजाने टुंगो छैन । तर नेकपा एमालेका ३९ र नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका ८ जना सांसद भने सनाखतका लागि तयारी अवस्थामा छन् ।

बिहीबारदेखि नै उनीहरु एकै ठाउँमा बसेका छन् ।नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले सनाखतका विषयमा छलफल पछि निर्णय गर्ने बताउनुभयो । ‘गठबन्धनभित्र छलफल गर्छौं,’ उहाँले भन्नुभयो ‘नजानुपर्ने अवस्था केही छैन ।’कार्की र आङ्बोको दाबीमा आठ जना सांसदको हस्ताक्षर दोहोरिएको छ । दोहोरिएका ८ सांसदले आफ्नो समर्थन आङ्बोले दुरुपयोग गरेको भन्दै निवेदन दिएका छन् ।

प्रदेश प्रमुखसमक्ष हस्ताक्षर सनाखतका लागि जाँदा सांसदको संख्या नपुग्ने भएका कारण गठबन्धन सनाखतका लागि जाने सम्भावना कम छ । ‘उत्ता–कार्की पक्षमा० ४७ जना देखिंदा यता बहुमत पुग्ने अवस्था छैन,’ माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘दाबी कमजोर नै छ, केन्द्रको निर्देशनपछि जाने नजाने डिसिजन होला ।’

कोशी प्रदेशमा नेकपा एमालेका ३९ र कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका ८ जना सांसदको हस्ताक्षरसहति केदार कार्कीले दाबी गर्दा गठबन्धन दलका ४७ जना सांसदको समर्थनमा आङ्बोले दाबी गर्नुभएको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका ८ सांसद एमालेसँग मिलेका कारण आङ्बोको पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक जना सांसद छन् । ६ सिटको राप्रपा भने तटस्थ बसेको छ ।