जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार १३:०५

भाषा जोगाउनका लागि भक्तपुरबाट काठमाडौं र ललितपुरसम्मको साइकल र्याली सुरु


भक्तपुर, २७ असोज । भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल र्याली आज विहानबाट सुरु भएको छ । र्याली भक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको परिक्रमा गरी भक्तपुर मै पुगेर टुंगिनेछ ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” (जनता रहे, भाषा रहन्छ) भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुयाउने उद्वेश्यका साथ विगत ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनी हुदैँ आएको छ ।

सोही अनुरुप यसवर्ष ४३ औं नेपाल भाषा साहित्य सम्मेलन तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भनपा–५ ल्यासिंख्य टोलमा आउँंदो कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि दुई दिवसीय रूपमा हुन गइरहेको हो । त्यसैको प्रचारार्थ र्याली निकालिएको हो । साइकल र्याली बिहान ६ बजेबाट सुरु भएको छ । र्याली सुरु हुनु अघि बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले तमुज्याका विविध विषयमा कुरा राख्नुभएको थियो । साइकल यात्रा सुरुवात यस पटकको तःमुंज्या आयोजना हुने स्थान ल्यसिंख्यबाट भएको हो । र्याली मार्ग (जम्मा दुरी ४० कि.मी) को रहने छ । र्याली भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमारी, नासमना, भार्वाचो, च्वङा गणेश हुँंदै भक्तपुरको मध्यपुर थिमिको राधेराधे पुग्नेछ ।

त्यहाँंबाट पुनः मध्यपुर थिमिकै शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी हुँंदै काठमाडौंको कोटेश्वर पुग्नेछ । त्यहाँंबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर थापाथली हुँंदै ललितपुरको कुपण्डोल पुग्नेछ ।

त्यहाँंबाट पाटन ध्वाका, न्याखचुक पुगी नेवाः समयबजी (खाजा) कार्यक्रम हुनेछ । न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, हुँदै भक्तपुरको सूर्यविनायक नगरपालिका सिरूटार पुग्ने छ । त्यहाबाट चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ ।

साइकल रयालीमा सहभागी हुने इच्छुकले २०० रूपैयाँको अनलाइन फारम भर्नुपर्ने थियो । गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्याका आयोजकले जानकारी दिनुभएको छ ।