काठमाडौं, भदौ २७
गृहमन्त्री रामबहादुर थापाले दोहोरो नागरिकता लिने प्रवृत्तिका विकासमा बाधक भएकाले नागरिकता विधेयक ल्याउनु परेको बताउनु भएको छ । उहाले समितिबाट आउने निर्देशन सरकारलाई मान्य हुने समेत बताउनु भएको छ ।
संसदको राज्य व्यस्था समितिमा नागरिकता सम्बन्धी विधेयकमा सांसदले जवाफ मागेपछि जवाफ दिन समितिमा पुग्नु भएका मन्त्री थापाले भन्नुभयो, ‘समितिको निर्णय मान्न तयार छु, भारतमा ७ वर्ष रहेकैले तपाईहरु ७ राखौं भन्नू हुन्छ भने ठिक छ हामी त्यहि राखौं, यसमा सरकारलाई कुनै असहमति हुँदैन।’ विधेयकमा आवश्यक परिमार्जन समितिले गर्न सक्ने मन्त्री थापाको भनाइ छ । उहाले भारतसँगको खुल्ला सिमाका कारण नागरिकतामा समस्या आएको पनि बताउनु भयो । ‘भारतसँगको खुला सीमानाका कारण दोहोरो नागरिकता समस्या आएको छ’, उहाले भन्नुभयो, ‘यो समस्याले देशको विकासमा असर पारेकाले समाधानका लागि विधेयक ल्याइएको हो ।’
समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता नदिनेगरी अर्को विकल्प प्रस्ताव गरिएको छ। विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने तर त्यसभन्दा अघि राजनीतिक अधिकारवाहेक अरु अधिकार प्रयोगका लागि छुट्टै परिचयपत्र व्यवस्था गर्ने विषयमा सहमति हुने समिति सदस्य झपट रावलले बताउनु भयो । प्रस्तावित विधेयकमा भने विदेशी वुहारीले विवाहलगत्तै अंगीकृत नागरिकता पाउन सक्ने र नागरिकता पाएको ६ महिनाभित्र आफ्नो देशको नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तो निस्सा पेश गर्न नसके उनलाई दिइएको नागरिकता स्वतः खारेज हुने प्रावधान राखिएको छ। समितिमा केही सांसदहरुले विदेशी वुहारीलाई जस्तै विदेशी ज्वाइँलाई पनि नागरिकताको समान अधिकार हुनुपर्ने माग गरेका छन्। तर सरकारले भने विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता दिन नसकिने बताएको छ। अंगीकृत नागरिकताको विवाद लम्बिएपछि एक वर्षदेखि विधेयक समितिमै अल्झिरहेको छ। विधेयक माथिको छलफल आजै टुंग्याएर पारित गर्ने गरि समितिमा छलफल जारी छ।
प्रतिक्रिया दिनुहोस्