जनता टाइम्स

१ कार्तिक २०८०, बुधबार १२:१०

‘महाजात्रा’ मा जोडिए दिव्यदेव, गौमाया र शिशिर


काठमाडौँ, १ कात्तिक । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला फिल्म ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिनुभएको छ । नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडी नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेत जोडिनुभएको छ । उहाँहरूले आफ्नो लुक्स टेस्ट गरिसक्नुभएको छ भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसक्नुभएको छ ।

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उहाँहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ । ‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खला प्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौँ’, कार्यकारी निर्माता बानियाँले भन्नुभयो ।

कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दै हुनुहुन्छ । यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो । स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समुहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु ।’ यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ । महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतिक्षित छ । फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।