जनता टाइम्स

६ कार्तिक २०८०, सोमबार ०७:५७

दसैंका लागि मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी


मुस्ताङ, कात्तिक ६ । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौलगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिनुभयो । ‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उहाँले भन्नुभयो ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उहाँले बताउनुभयो । गतअसोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशुु चिकित्सकलाई  १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताउनुभयो । तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुको खपत बढी हुुने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचितुवा, ब्वासो र जंगली कुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताउनुभयो । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो ।