काठमाडौं, कात्तिक ८ । ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या बनिरहेको कोटेश्वर चोकको जाम हटाउन फ्लाइओभर र सुरुङमार्ग बनाउने निर्णयमा सरकार पुगेको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।
सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । जापानी सहयोग नियोग (जाइका) ले अध्ययन सकेपछि अब कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग निर्माण परियोजना अघि बढ्ने अवस्थामा पुगेको हो । त्यसैअनुसार सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य अघि बढाएको छ । सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले अव यो परियोजना अघि बढन लागेको जानकारी दिनुभयो ।
कोटेश्वरमा बिहान–बेलुकीको पिक आवरमा यातायात साधनहरू जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो ।
सरकारले जाइकाले कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये एउटा रोजेको उपमहानिर्देशक जैसीले जानकारी दिनुभयो । विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोकसहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो । जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए । तीनकुनेपट्टबिाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १.३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो । कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १.२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो ।
यस्तै फ्लाइओभर सहित तीनकुने–जडीबुटी दुईतर्फी सुरुङमार्ग तेस्रो विकल्प थियो । करिब २४ अर्ब लागतको यो परियोजना तयार गर्दा रिंगरोडको आवतजावत रोकावटरहित हुने जाइकाको अध्ययनले देखाएको थियो । यही तेस्रो विकल्प रोज्दै सरकारले जाइकासँग यसका लागि ऋण लिन तयारी गरिरहेको हो ।
नागढुंगा सुरुङमार्गको काम अब सकिने चरणमा पुग्दा जाइकासँग कोटेश्वर–जडीबुटी खण्डको सुरुङमार्ग परियोजना अघि बढाउन लागेको जैसीले बताउनु भयो । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसैअनुसार जाइकाले अन्तिम प्रतिवेदन दिएको छ । सोही अनुसार अब छिट्टै ऋण सम्झौता हुने बताइएको छ ।
उपमहानिर्देशक जैसीका अनुसार मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्नेछ । जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६ सय मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खनिनेछ ।
सुरुङले रन–वे तर्फको भाग छुने छैन भने तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ ।













प्रतिक्रिया दिनुहोस्