जनता टाइम्स

९ कार्तिक २०८०, बिहीबार ०७:२२

स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते


मकवानपुर, कात्तिक ९ । मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको स्कुटर दुर्घटनामाएक महिलाको मृत्यु भएको छ । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा एक पुरुष घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।