काठमाडौँ, कातिक ९ । ढोग नदिएको भन्दै कुटपिटबाट घाइते भएका ओलीको मृत्यु। भलिवल खेल मैदानमा आफुहरुलाई ढोग दिनुपर्ने प्रस्ताव नमानेको भन्दै कुटपिटबाट घाइते भएका एकजनाको उपचारकाक्रममा मृत्यु भएको छ ।
सल्यानको बागचौर स्थित खेलमैदानमा स्थानीय २ जनालाई ढोग (दर्शन) नगरेको भन्दै गत ४ गते कुटपिट गर्दा बागचौर नगरपालिका –७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीमाथि गम्भीर घाइते हुनेगरि कुटपिट गरिएको थियो । ओलीको उपचारकाक्रममा भारतको लखनउमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ओलीमाथि छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कुटपिट गरेको प्रहरीको भनाई छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भन्दा घनश्यामले नमानेपछि उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएकोमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर ओली फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ढोग नदिएको भन्दै कुटपिटबाट घाइते भएका ओलीको मृत्यु













प्रतिक्रिया दिनुहोस्