जनता टाइम्स

११ कार्तिक २०८०, शनिबार १२:०३

एनआरएनएमा आरके समुहको अर्काे नाटक : हरुवालाई बिजेता घोषणाको माग गर्दै परराष्ट्रमा निवेदन


काठमाडौं, कात्तिक ११ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा नेतृत्वको समूहले आफूहरुलाई बिजेता घोषित गरी संघको तालाचावी दिलाउन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ ।

चुनाव हारेपछि हरुवाहरुको क्लव गठन गरेको सो समुहले आधिकारिकताको दाबी गर्दै सो समूहले शुक्रबार परराष्ट्र मन्त्रालयमा निवेदन दिएको हो । सो निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । आफूहरुको सरकार रहेको कारण हारे पनि जितेको भन्न लगाउन यस्तो नाटक गरिएको हो । गत अक्टोबर १९ मा अनलाइन माध्यमबाट भएको चुनावमा धाँधली भएको भन्दै उनीहरुले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि शागर सुवेदी सहित पदाधिकारीहरुको नामावली पेस गरिएको छ ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अन्य दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गर्नुभएको थियो ।

सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्दसत्र गरेर अर्काे निर्वाचन समिति बनाएर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको नाटक गरिएको थियो । निवेदन दिएपछि आरके समूहले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने बताएको छ ।