जनता टाइम्स

१२ कार्तिक २०८०, आईतवार १५:००

राष्ट्रसंघका महासचिव गुटेरेस सिंहदरबारमा


काठमाडौं, १२ कात्तिक । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।

सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गर्नुभयो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्वनिर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नुहुनेछ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आउनुभएको हो ।