जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ०७:०८

नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा श्रेष्ठ द्धयबीच कडा प्रतिस्पर्धा


काठमाडौँ, भदौ २८  नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका चयनका लागि  (आज)शनिबार चुनाव हुँदैछ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउँदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबारका लागि चुनाव तय भएको हो ।

मतदातालाई आफूतिर आकर्षित गर्न दुवै अध्यक्षका उम्मेदवार लागि परेका छन् । जीवनराम श्रेष्ठ आफ्नो कामको मूल्यांकन साथीभाइले गर्लान् भनेर जित्नेमा विश्वस्त देखिन्छन् भने उमेशलाल श्रेष्ठ पनि यसपटक बाजी मार्नेमा विश्वस्त छन् ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उप–महासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।