जनता टाइम्स

२१ बैशाख २०७६, शनिबार १५:०३

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता, उपन्द्रले स्विकारे बाबुरामको नेतृत्व


काठमाडौं, वैशाख २१

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टीविच एकता गर्ने सहमति भएको छ । लामो समयको छलफलपछि दुई दुई पार्टीले एकता गर्ने घोषणा गरेका हुन् ।

नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा आज विहान भएको निर्णयाक छलफलपछि दुवैले २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा एकता गर्ने दुवै दलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । पार्टीको अध्यक्ष भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै हुनुहुनेछ । पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्।

संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । सरकारका विषयमा भने विज्ञप्तीमा केही उल्लेख गरिएको छैन । तर, स्रोतका अनुसार संविधान संशोधनसहितका माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिने र त्यो अवधिमा माग पुरा नभए सरकार छाड्ने सहमति भएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई एक मात्र सांसद हुन् ।