जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १७:३६

रचनात्मक सहरका लागि चलचित्र विधा छनोट


काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये चलचित्र विधा छनोट गरेको छ । कामपाले चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिन उक्त विधा छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

‘नेटवर्कमा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने थियो’, उहाँले भन्नुभयो,‘रचनात्मक सहरका सबै विधा काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकाले यो विधा छनोट गरिएको हो ।’

प्रवक्ता मानन्धरले फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सञ्जालमा जोडिएकामध्ये काठमाडौँसहित पाँच सहर चलचित्र विधामा छानिएका छन् ।

सङ्गीत विधामा १६, डिजाइनमा छ, शिल्प तथा लोककलामा सात, साहित्यमा १०, खानाका परिकारमा सात, मिडिया कलामा चार वटा सहर जोडिएका छन् । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछन् ।

‘जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्तअमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ’, मानन्धरले भन्नुभयो,‘जात्रा पर्व, मौलिक वेषभूषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् ।’

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्नेलगायत काम नेटवर्कले गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट गर्ने मानन्धरले जानकारी दिनुभयो । नेटवर्कका कार्यक्रम सञ्चालनका लागि कामपाले रू पाँच करोड विनियोजन गरेको छ । सञ्जालमा एक सय भन्दा धेरै देशका तीन सय ५० सहर आवद्ध भइसकेका छन् ।