जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ११:३८

करारमा शिक्षक नियुक्त हुन हेडसरले नै एक लाख मागेपछि…


बीरगञ्ज, भदौ २८ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेहवा प्रसौनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधान अध्यापक सचिन्द्रकुमार कापरसहित पाँच जना पक्राउ परेका छन । करारमा शिक्षक नियुक्तिका लागि मागिएको एक लाख घुससहित प्रधानअध्यापक कापरसहित पाँच जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोयको टोलीले शुक्रवार पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार प्रधानअध्यापक कापर, सहायक प्रधानन अध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले एक लाख रुपैया घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित चियापसलबाट शुक्रवार घुसरकम सहित रङ्गेहात नियन्त्रणमा लिइएको कोइरालाले बताउनु भयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।