जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ११:४६

सहकारीकर्मीलाई मन्त्री अर्यालको निर्देशन : माटोले जे खोज्छ, बजारले के खोज्छ त्यही गर्नुस


काठमाडौं, भदौ २८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडि बढ्न निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो निर्देशन दिनुभएको हो ।

शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताउनुभयो । संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उहाँले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । सहकारी अभियान कौशीमा भएकालाई पिंढिमा झार्ने नभएर पिंढीमा भएकालाई कौसीमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताउनुभयो । त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उहाँको भनाइ थियो ।

पूँजि जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको रकम थुपारेर राख्ने मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिनुभयो । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन बनाउदैछौ । अबको कानुन आजको आवश्यकता पूरा गर्ने हो । सहकारीको हातखुट्टा बाँधेर प्रगति हुदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस् । भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस र बढी भन्दा बढी युवालाई रोजगारी दिनुस ।’

अबको पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ती ऐन संशोधन गरेर हामी अगाडि बढ्ने बताउनुभयो । दिगो लक्ष्य हासिल गर्नका निम्ति द्रुतगतिमा बढीभन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने भन्दै उहाँले तबमात्र दिगो लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’, उहाँले भन्नुभयो ।

सहकारीमा भएको लगानीको सुरक्षाका निम्ति मन्त्रालयले कर्जा सूचना केन्द्रको आवश्यकता देखेर त्यसलाई अगाडि बढाएको भन्दै उहाँले सहकारीमा ब्याजको विषयलाई लिएर धेरै गुनासो आएपछि त्यसमा एकरूपता ल्याउन अहिले १६ प्रतिशत ब्याजदर तोकिएको बताउनुभयो । यसैगरी ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री अर्यालले अब बचत तथा ऋण सहकारीले पनि निश्चित उद्देश्य लिनुपर्ने बताउनुहुन्छ ।

संविधानसभाबाट महिलामैत्री संविधान बनाएका कारण हिजो घरमा केही तलमाथि भयो भने रित्तै हात महिला निस्कनुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । अहिले अवस्था फेरिएको भन्दै मन्त्री अर्यालले महिलाको अधिकार र पहिचानको निम्ति महिला अधिकारकर्मीहरुले आवाज उठाएका कारण संविधानमा महिलाको वंश र अंशको अधिकार स्थापित गर्न सफल भएको बताउनुभयो ।

अब यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले समाज, राज्य, परिवार महिलामैत्री बन्न थालेको भन्दै अबको आवश्यकता भनेको आर्थिक सशक्तीकरण, क्षमता विकासकै आवश्यकता भएको बताउनुभयो । गाँठ दह्रो भयो भने आँट दह्रो हुनुपर्ने भन्दै मन्त्री अर्यालले महिलाहरु आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । महिलाहरू आत्मनिर्भर बन्दा कसैले पनि हेप्न नसक्ने भन्दै उहाँले सीप सिकेर उद्यमी बन्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।