जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार ०८:०८

भूकम्प प्रभावित क्षेत्रमै पुगेर पीडितलाई राहत सामग्री वितरण गर्दै गैर एनआरएनए


काठमाडौं, कात्तिक १९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ ।

भूकम्पले घरबारविहीन भएका पीडितहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष बद्री केसीको नेतृत्वको टोली प्रभावित क्षेत्रमा जाने भएको हो ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन् । यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो । शनिवार बसेको बैठकले प्रभावित क्षेत्रमै पुगेर पीडितलाई तत्काल आवश्यक सहयोग गर्ने निर्णय लिएको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आइतवार नै प्रभावित स्थानमा पुगने निर्णय गरेको अध्यक्ष केसी र महासचिव जोशीले जानकारी दिनुभयो । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४ सय परिवारका लागि प्रतिपरिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिने संघले जनाएको छ ।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसिया, सीता खतिवडा लगायत हुनुहुन्छ । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

बैठकले संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय पनि गरिएको संघले जनाएको छ ।